राजनीति

चाडपर्वले ‘विविधतामा एकता’को सन्देश : उपराष्ट्रपति यादव



काठमाडौँ, १० पौष । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले ‘विविधतामा एकता’ को सन्देश दिँदै राष्ट्रिय अखण्डता, सामाजिक समानता र सहअस्तित्वलाई बलियो बनाएको बताएका ।

क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्ति, प्रेम, करुणा र सहअस्तित्वको सन्देश बोकेको यस पर्वले मानवता, सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउनमा सहयोग पुगोस् भन्दै शुभकामना दिएका हुन् ।

सन्देशमा सन्देशमा भनिएको छ, “हाम्रो संविधानले सुनिश्चित गरेको समानता, धार्मिक स्वतन्त्रता र सामाजिक न्यायसँग यी मूल्यहरू प्रत्यक्ष रूपमा जोडिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक हो । यहाँका विविध धर्म, संस्कृति र परम्पराले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएका छन् । यी चाडपर्वले ‘विविधतामा एकता’को सन्देश दिँदै राष्ट्रिय अखण्डता, सामाजिक समानता र सहअस्तित्वलाई बलियो बनाएका छन् ।”

पछिल्ला वर्षहरूमा अन्य धर्मावलम्बीहरूले पनि उत्साहपूर्वक क्रिसमस मनाउन थालेका छन्, जसले सर्वधर्म सहिष्णुता, परस्पर सम्मान र हाम्रो मौलिक पहिचानलाई जीवन्त राख्न मद्दत पुर्‍याएको शुभकामना सन्देशमा जनाइएको छ । यस अवसरमा सबैले सामाजिक न्याय, समावेशिता र समान अवसरलाई अझ सुदृढ बनाउने सङ्कल्प लिन सक्नुपर्ने पनि उपराष्ट्रपति यादवको भनाइ छ ।