Banner News

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल



काठमाडौँ, ११ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताएका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्दै उनले माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

‘ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उनीहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उचित सम्मान र संरक्षण गर्न सकेमात्र यो दिवस सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ”, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, सङ्घसंस्था तथा तीनै तहका सरकारबिच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गर्न सबैमा उनले आग्रह गरेका छन् ।