काभ्रेपलान्चोक, ११ पौष । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् ।
बिहीबार पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरु पनि त्यसतर्फ होमिएको बताए । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।
सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरूकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरू निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’










प्रतिक्रिया दिनुहोस्