राजनीति

राजनीतिमा धैर्य आवश्यक छ, हतार गरे दुर्घटना हुन्छ : महासचिव पोखरेल



बाँके, ११ पौष । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने बताएका छन् ।

नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राजनीतिमा ‘तातै खाऔँ, जल्दै मरौँ’ जस्तो हतार गरे सफलता हासिल नहुने उल्लेख गरे । विषयगत ज्ञानसहितको नयाँपुस्ताले राष्ट्रलाई सही दिशा प्रदान गर्न सक्ने भएकाले सचेत युवाहरू राजनीतिमा अगाडि आउनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘राजनीतिमा धैर्य र समर्पण चाहिन्छ, हतार गरे दुर्घटना हुन्छ । युवापुस्ताले भावनामा बहकिएर होइन, परिस्थितिलाई तथ्य र सत्यका आधारमा विश्लेषण गरेरमात्र समाज परिवर्तनको यात्रामा लाग्नुपर्छ ।’