काठमाडौँ, १२ पौष । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले सिँहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरु पनि लोकतान्त्रिक प्रतिष्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक भएको बताउनुभएको छ ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्दै साहबीच सहकार्य गरेर निर्वाचनमा जानेबारे छलफल चलिरहेको छ । उनीहरुले एउटै पार्टीबाट निर्वाचनमा जाने, सभापति लामिछाने हुने र उपसभापति साह हुने, निर्वाचन पछिको पहिलो प्रधानमन्त्री साह हुने र दोस्रो प्रधानमन्त्री लामिछाने हुने बारेमा आन्तरिक सहमति गरेको निकट स्रोतले बताएको छ । सोही प्रशंगलाई लक्षीत गर्दै नेता ज्ञवालीले लामिछाने र साहकै कारण सिंहदरवार, सर्वोच्च, संसद भवनलगायतका संसचनाहरु जेनजी आन्दोलनको बहानामा आगजनी गरिएको संकेत गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘विचार मिल्नेहरु एकै ठाउँ उभिनु राम्रो हो । (उसो त, विचार मिलेको हो कि स्वार्थ– समयले नै बताउला ।) त्यसमाथि, सिँहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरु पनि लोकतान्त्रिक प्रतिष्पर्धाबाट त्यही सिँहदरबारमा पुग्न खोज्नु सकारात्मक हो ।
तर यस्ता भेटघाटहरुलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरु नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचित्रहरुमा देखिन्छ- कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरु सोत्तर हुन्छन् !
यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ । तर यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन । देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो ।
कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने ? तीव्र रुपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने ? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने ? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने ? यावत् प्रश्नमा कुनै विकल्प छैन ।
छ त केबल नकारात्मकता, निषेध र घृणा । कतिपय मिडियामा देखा परेको ‘युफोरिया’ हेर्दा दुई दशक अगाडिका घटनाहरू याद आए, जतिबेला ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थे ।ओहो, हिंसाको त्यो महिमागान ! नयाँ दिनका ती अभ्यर्थना ! र नयाँ नेपालका ती सपना ! आज त्यो ‘मिडिया हाइप’ निर्मित बिम्ब कपुरको बास्ना झैँ विलोप भइसकेको छ । घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो त आखिर लामो दौडले नै तय गर्ने हो । साथीहरूले समाजलाई ‘इमोशनल’ होइन, ‘र् याशनल’ बनाउन सघाए हुने हो । स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्