समाचार

मोरङमा गोली चल्यो



काठमाडौँ, १४ पौष । गाँजा कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले आइतबार राति पनि गोली चलाएको छ ।

आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ ।

आइतबार राति धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी–५ लाफा टोलमा रोक्न खोजेको थियो । प्रहरीलाई देख्नासाथ एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भागेका थिए ।

त्यसपछि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको थियो ।

एम्बुलेन्समा लोड गरिएको ४८० किलो हाराहारी गाँजा पनि बरामद गरेको प्रहरीले जनाएको छ ।