Banner News

जेनजी आन्दोलनमा मैले गोली चलाउने आदेश दिएको छैन : रमेश लेखक



काठमाडौँ, १४ पौष । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् ।

आज जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने, कुनै खालको लिखित मौखिक आदेश दिएको छैन । दिनुपर्ने कारण छैन । दिनुपर्ने कानुनी व्यवस्था छैन,’।

उनले आफू अत्यन्तै पीडामा परेर पदीय मर्यादाको आधारमा राजीनामा दिएको जिकिर गरे । ‘कति बल प्रयोग गर्ने, कसरी गर्ने के गर्ने भन्ने छैन भनेको छैन । दिएको छैन । तर म अत्यन्तै ज्याद मर्माहित भएर पदीय मर्यादाको आधारमा राजीनामा गरेको हुँ । नैतिकताको आधारमा मैले राजीनामा गरेँ,’ लेखकले भने ।

उनले थप प्रश्न गर्दै भनेका छन्, ‘मैले मान्छेलाई मार भनेर आदेश दिनसक्छु ? त्यस्तो गलत कर्म म बाट हुन्छ ? हुँदैन ।’

लेखकले भदौ २४ गतेका दिन जे जस्ता हिंसात्मक एवम् राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा नभएको पनि बताएका छन् । 

उनले भने, ‘राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन सहित राज्यका तीनै प्रमुख अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्तिनँ’, ‘लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्त, प्रतिनिधि संस्थामाथिको आक्रमण जेनजी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय हो भन्ने म ठान्दछु ।’