धुलिखेल, २५ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकाले निर्वाचनलाई असर गर्ने गरी कुनै अप्रिय निर्णय नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
निर्वाचनको मिति सार्ने चर्चाप्रति लक्ष्य गर्दै प्रमुख आयुक्त डा. यादवले भन्नुभयो, ‘निर्वाचनको यो अन्तिम अवस्थामा कुनै अप्रिय निर्णय नगर्न नेपाल सरकारसँग अनुरोध गर्दछु, साथै निर्वाचनका कार्यतालिकामा असर पार्ने कुनै अप्रिय घटना नहुन् ।’
मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ‘निर्वाचन सञ्चालन र व्यवस्थापन’सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
प्रमुख आयुक्त डा। यादवले भन्नुभयो, ‘कानुन, नियम र निर्देशिकालाई अन्तिम रूप दिइसकिएको छ, विगतमा निकै अस्थिर राजनीतिक र अविश्वासको अवस्थामा पनि ऐतिहासिक रेकर्ड कायम गर्ने गरी स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । सबैको सहयोगबाट यो सम्भव भएको हो, अहिले पनि यो अन्तिम अवस्थामा कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् ।’
जसरी भए पनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई बेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारसँग उहाँले आग्रह गर्नुहुँदै निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले कार्यसम्पादन गर्दा निर्वाचनको मूल्य र मान्यतालाई जुनसुकै अवस्थामा आँच आउन नदिनेतर्फ हेक्का राख्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई सुझाव दिनुभयो । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्