राजनीति

श्रद्धा कुँवर रास्वपाको समानुपातिक उम्मेदवार



बुटवल, १६ पौष । युवा सामाजिक अभियान्ता श्रद्धा कुँवर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार बन्नु भएको छ ।

सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र कुलमान घिसिङबीच भएको एकतापछि टुङ्ग्याईएको समानुपातिक उम्मेद्वारमा कुँवरको नाम रास्वपाको तर्फबाट समावेश गरी निर्वाचन आयोगमा बन्दसूची बुझाएको छ । उहाँ बालेनको कोटाबाट चौथो नम्बरमा पर्नुभएको बताइएको छ ।

कुँवर केहि समय अघिसम्म एमाले निकट राष्ट्रिय युवा संघ नेपालमा दुई कार्यकाल केन्द्रीय कमिटीमा रहेर काम गर्नुभएको थियो । जेनजी आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकारले गोलि प्रहार गरी युवाका हत्या गरेको भन्दै संघबाट राजिनामा दिई हाल स्वतन्त्र रुपमा सामाजिक कार्यमा संलग्न रहनुभएको थियो ।

राष्ट्रिय युवा परिषद्को नमुना युवा संसदको सभामुखको भूमिका समेत निर्वाह गरिसक्नुभएको नेतृ कुँवर लायन इन्टरनेशनलमा लियोको पहिलो महिला डिस्ट्रीक प्रेसिडेन्ट समेत बनिसक्नुभएको हो । १५ वर्षको उमेरदेखी सामाजिक कार्यको नेतृत्व गर्दै आउनुभएकी नेतृ कुँवर नेकपा एमाले रुपन्देहीको कान्छी जिल्ला समदस्य समेत बन्नुभएको थियो ।

‘देशको विकार र समृद्धिको नेतृत्व अब पुराना डेटएक्पायरहरुले हैन, समय र परिस्थिती बुझेका सक्षम नवयुवाहरुले देशको नेतृत्व गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सत्यको पक्षमा सामाजिक तथा राजनैतिक कार्यमा आफ्नो आवाज बुलन्द गर्दै अबको यात्रा नयाँ पुस्ता र वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै राजनीतिको माध्यमबाट मुलुकको रुपान्तरण नेतृत्वमा होमिएको छु । जनताको आशा, विश्वास र भरोषालाई टुट्न दिने छैन ।’