राजनीति

समानुपातिक प्रतिनिधित्व प्रणालीको राजनीतिक दलहरूले दुरुपयोग गरे: महामन्त्री थापा



काठमाडौँ, १८ पौष । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशका संरचनागत र जटिल समस्याको समाधानका लागि निर्वाचनअघि नै न्यूनतम राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक भिडियो सन्देशमार्फत उनले समानुपातिक प्रतिनिधित्व प्रणालीको राजनीतिक दलहरूले दुरुपयोग गरेको आरोप पनि लगाए । संविधान र कानुनी प्रावधानमा स्पष्टता नहुँदा ‘के गर्न पाइन्छ र के पाइँदैन’ भन्ने अस्पष्टताबाट व्यापक दुरुपयोग भएको थापाको भनाइ छ । एकपटक सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई पुनः समानुपातिक सूचीमा राख्न नपाउने संवैधानिक व्यवस्था आवश्यक रहेको उनले औँल्याए ।

उनले जेनजी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन रहेको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न निर्वाचन मात्र पर्याप्त नहुने धारणा राखेका हुन् । थापाका अनुसार भ्रष्टाचार, नातावाद, कृपावाद र राजनीतिक दलहरूको अत्यधिक हस्तक्षेपका कारण राज्यका संस्थाहरू कमजोर बन्दै गएका छन्, जसले सुशासन खस्किँदा जनआक्रोश बढाएको छ ।