राजनीति

विविधतालाई एकतामा रूपान्तरण गर्नुपर्छ: मुख्यमन्त्री कँडेल



सुर्खेत, १८ पौष । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको धार्मिक पर्यटकीय विकासमा इसाई धर्मावलम्बीहरूको ध्यान जानुपर्ने बताएका छन् ।

इसाई समाज सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा ‘मुक्तिदाता यशुख्रिष्टको शुभ जन्मोत्सव तथा नयाँ वर्ष २०२६’ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले धार्मिक पर्यटकीय विकासबाट कर्णालीको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । उनले इसाईलगायत धर्म, संस्कृति, भाषा, पहिचान र मूल्य–मान्यताबिचको सहअस्तित्वले नेपाली समाजलाई अझ सुदृढ बनाएको उल्लेख गरे ।

“नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश भएकाले सबै समुदायबिच आपसी सम्मान, सद्भाव र विश्वास कायम राख्न जरुरी छ”, मुख्यमन्त्री कँडेलले भने, “चाडपर्व विश्वास र मेलमिलाप बढाउने अवसर भएकाले तिनलाई समाज जोड्ने माध्यमका रूपमा उपयोग गर्नुपर्छ ।” विश्वास, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धिले विविधतालाई एकतामा रूपान्तरण गर्न सकिने उनको भनाइ थियो ।

विविधतामाथि खलल पुग्ने कुनै पनि प्रयासका विरुद्ध सबै मिलेर अस्वीकार गर्नुपर्नेमा जोड दिँदै उनले समाजमा विभाजन ल्याउने गतिविधिबाट सतर्क रहन इसाई धर्मावलम्बीलाई आग्रह गरे । ख्रीष्टियनहरू एकताबद्ध भई सामूहिक माग लिएर आए प्रदेश सरकार सहयोगका लागि बाध्य हुने मुख्यमन्त्री कँडेलले बताए ।