राजनीति

जाँचबुझ आयोगले प्रचण्ड र देउवालाई काट्यो पत्र



काठमाडाैँ, १८ पौष । जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ ।

जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंसबारे जाँचबुझ गर्न गठन भएको आयोगले दुवै जनालाई आफ्नो धारणा राखिदिन आग्रह सहित पत्र पठाएको थियो । व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सँगको समन्वयबाट पत्र र म्याद बुझाउने प्रयास भएकोमा दुवै नेताहरूले पत्र बुझ्न अस्वीकार गरेका थिए । सार्वजनिक सूचना प्रकाशित हुने चेतावनीपछि म्याद बुझेको खुलेको छ ।

कांग्रेस सभापति देउवाले आफू नै २४ भदौको आगजनीबाट पीडित भएको, घर जलेर नष्ट भएका कारणले अन्यत्र बस्नु परेको, अनि जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै भूमिकामा पनि नरहेको भन्दै त्यस्तो अवस्थामा किन बयान दिने ? भनी प्रश्न गरेका थिए ।

त्यसैगरी प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, त्यतिबेला सत्तामा रहेकाहरुमाथि खबरदारी गरिरहेको तर उल्टै आफ्नो घरमा आगजनी भएको अवस्थामा के आधारमा बयान दिने भनी प्रश्न गरेर पत्र बुझेका थिएनन् ।