समाचार

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते



काठमाडौँ, २५ पौष । जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप दुर्घटना भएको हो ।

छेडागाड नगरपालिका-९ पजारुबाट थलह तर्फ आउँदै गरेको उक्त जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको थियो । चालकसहित ६ जना सवार रहेकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा छेडागाड नगरपालिका-९ पजारु की ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारी रहेका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा जिप चालक  सोही ठाउँका २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका-६ की २३ वर्षीया सितला रावत रहेका छन् ।