काठमाडौँ, २७ पौष । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेश राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवम् सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उतिकै सान्दर्भिक रहेको बताएकी छिन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले कलह, झगडा र अस्थिरताले थलिएर विकास गर्न नसकेका ससाना राज्यको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु इतिहासको गौरवपूर्ण अध्याय भएको बताएकी छिन् ।
उनले नागरिकहरूको समेत सल्लाह तथा सुझाव लिएर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व एवम् हाम्रा वीर पुर्खाको त्याग र बलिदानका कारण नै नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्य हामीले आत्मसात गर्नुपर्ने बताइन् ।
उनले सामाजिक सन्जालमा भनेकी छिन्, ‘नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश-विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
कलह, झगडा र अस्थिरताले थलिएर विकास गर्न नसकेका स-साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको गौरवपूर्ण अध्याय हो । नागरिकहरूको समेत सल्लाह तथा सुझाव लिएर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व एवम् हाम्रा वीर पुर्खाको त्याग र बलिदानका कारण नै नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्य हामीले आत्मसात गर्नुपर्दछ ।
ऐतिहासिक एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर हामी आजको सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका छौं । हामीले हाम्रो पवित्र भूमि, इतिहास र संस्कृतिप्रति गौरव गर्दै पूर्वजप्रति कृतज्ञ हुनुपर्दछ । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु नै सभ्य समाजको पहिचान हो । पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवम् सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक छन् । अन्त्यमा, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो देशभक्तिको भावना अझ सबल बनाई सामाजिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाओस्, साथै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमिकता र समृद्धिका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्