काठमाडौँ, २८ पौष । नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ ।
पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन र नयाँ नेतृत्व चयनको वैधानिक बाटो खुला गरेको हो ।
भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्रबाट सोमबार पारित उक्त कार्यविधिअनुसार २०७८ साल मंसिरमा सम्पन्न चौधौं महाधिवेशनबाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको अवस्थालाई मध्यनजर गर्दै सो समिति विघटन गरिने भएको छ । कार्यविधिमा १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि पार्टी सञ्चालन गर्न नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने स्पष्ट व्यवस्था गरिएको छ ।
कार्यविधिले विशेष महाधिवेशनमा पेस हुने प्रस्तावहरूको समेत टुंगो लगाएको छ । जसअनुसार समसामयिक राजनीतिक समीक्षा, पार्टीको नीति, विधान संशोधन तथा परिमार्जन, र पार्टीको संरचनागत सुधारका विषयहरूमा छलफल हुनेछ । यसैगरी, चौधौं महाधिवेशन पश्चात् विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समितिलाई पनि यसै महाधिवेशनमार्फत विघटन गरिने भएको छ ।










प्रतिक्रिया दिनुहोस्