Banner News

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्य: मुख्यमन्त्री आचार्य



काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी अनिवार्य रहेको बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यु होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षा सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पूर्वतयारी र सतर्कता सधैँ चुस्त राख्नुपर्नेमा जोड दिए । उनले भविष्यमा क्षति दोहोरिन नदिन सरकार पूर्वसतर्कता र तयारीमा संवेदनशील रूपमा काम गरिरहेको बताए ।

विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ३५ वटा विद्यालयका ४ हजार विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको छ ।

नास्टका प्रविधि सङ्काय प्रमुख डा. सुरेशकुमार ढुङ्गेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै वैज्ञानिक जानकारी र व्यवहारिक तयारी आवश्यक रहेको बताए । यस्ता प्रवर्द्धनात्मक कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ ।

भूकम्पीय जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता प्रशिक्षणले विद्यार्थी र शिक्षकमा वैज्ञानिक बुझाइ विकास गर्ने तथा आपत्कालीन अवस्थामा सही निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।