काठमाडौं, २८ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने तस्करीको विषयलाई लिएर सरकारी कार्यालयहरुले एक अर्कोमाथि दोष थोपरेका छन् ।
सुन लगायतका बहुमूल्य वस्तुको तस्करीको विषयलाई लिएर विमानस्थल व्यवस्थापन र भन्सार कार्यालयले एक अर्कोमाथि दोष थोपरेका हुन् ।
विमानस्थलबाट हुने तस्करीबारेमा बुझ्न बिहीबार व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिका १३ जना सांसद् विमानस्थल पुगेका थिए ।विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय र भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले सांसद्हरुकै सामुन्ने एक अर्काको कमजोरी सार्वजनिक गरे ।
विमानस्थलका महाप्रबन्धक उपाध्यायले भन्सार कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने गेट नम्बर सिमा विमानस्थलले दिएको एक्सरे मेसिन चलाउन नमानेको र नयाँ मेसिन नराखेका कारण ब्यागेजको जाँचमा घण्टौं लाग्ने गरेको तथा त्यसका कारण विमानस्थलको छविमा नै आँच आएको बताए ।
उनले भन्सार कार्यालयले ब्यागेज जाँचमा धेरै समय लगाउनाले पनि तस्करलाई सहयोग मिलेको हुनसक्ने बताए । तर विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले भने भन्सारले हेर्ने क्षेत्रमा कुनै किसिमको समस्या नरहेको दाबी गर्दै राजस्वको तथ्यांकले यसलाई पुष्टि गर्ने बताए ।
उनले जहाजबाट ब्यागेज जम्मा हुने पारवहन गोदामसम्मको बाटोमा भन्सारको पहुँच नरहेको र त्यहि बाटोमा गडबड हुने गरेको बताए । विमानस्थलका सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौलाले भने विमानस्थलको क्षेत्र साँघुरो तथा पूर्वाधार र प्रविधि अपर्याप्त भएकाले तस्करहरुले फाइदा लिने ठाउँ पाएको भन्दै एकले अर्कालाई दोष लगाएर समस्याको समाधान नहुने बताए ।
प्रहरी नायब महानिरीक्षक निरौलाले विमानस्थलभित्रको पार्किङ निषेधित क्षेत्रमा भन्सार कार्यालयले समयसमयमा गाडी पार्किङ गर्ने गरेको र त्यसले शंका गर्ने ठाउँ दिएको पनि बताएको कारोबारमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्