राजनीति

उज्यालो नेपाल पार्टीले १६५ क्षेत्रमै उम्मेदवार दिने



काठमाडौँ, १ माघ । उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइनमार्फत आवेदन खुला गरिसकेको छ । तर आवेदन खुला गरे पनि केही महत्त्वपूर्ण क्षेत्रहरूमा अझै योग्य उम्मेदवारको खोजी गरिरहेको उज्यालो पार्टीले जनाएको छ । 

पार्टीले सबै क्षेत्रमा सङ्गठन विस्तार गरिरहेको भए पनि केही जिल्लामा अझै पनि सक्षम र प्रभावशाली उम्मेदवारको खोजी गरिरहेको हो । यतिबेला पार्टीले अध्यक्ष कुलमान घिसिङको गृह जिल्ला रामेछापसहित २४ निर्वाचन क्षेत्रको लागि योग्य उम्मेदवार खोजी गरिरहेको छ ।

अध्यक्ष घिसिङले अन्य पार्टीसँग एकीकरण नगरी अगाडि बढ्ने बताइसकेका छन् । उनले भनेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’

पार्टीका केन्द्रीय सदस्य जीतराम लामाका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि देशभरबाट उल्लेख्य सङ्ख्यामा आवेदनहरू प्राप्त भइरहेका छन् । ‘हामीले १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने तयारीका साथ आवेदन माग गरेका थियौँ, धेरै ठाउँमा आवेदन परेका पनि छन्,’ लामाले भने, ‘तर कतिपय जिल्लामा पार्टीको मापदण्ड अनुसारका सक्षम र योग्य उम्मेदवारको अझै खोजी भइरहेको छ । हामी उम्मेदवार छनोट प्रक्रियालाई निरन्तरता दिइरहेका छौँ ।’