राजनीति

आधिकारिकता दाबी गर्दै देउवा पक्षले निर्वाचन आयोगमा बुझायो कागजात



काठमाडौँ, २ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरु नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ ।

आज कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली आयोग पुगेर कागजात बुझाएको हो ।

गगन थापा पक्षले गत पुस २७ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन गरेर थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकता विवाद छ । देउवा र थापा पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । आयोगले ती निवेदनमाथि अध्ययन गरिरहेको जनाएको छ ।

यही सन्दर्भमा कार्यवाहक सभापति खड्का, नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, रमेश लेखक, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला लगायतका नेताहरु आज निर्वाचन आयोग पुगेका थिए ।

आधिकारिकता दाबी गर्दै कागजपत्र बुझाउनुअघि कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनलाई लोकतन्त्रमाथि षडयन्त्रको संकेतको रुपमा अर्थ्याएका थिए ।