राजनीति

३ वटा अध्यादेश ल्याउन सहयोग नभएपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ : महावीर पुन



काठमाडौँ, ७ माघ । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गरे । राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली स्वीकार गरेको भए आफूमा यो निर्वाचनमा नलड्ने मनसाय नै नभएको उनको भनाइ छ । 

उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको बताए। तर सो प्रस्ताव मुख्य सचिव तहबाट पनि रोकिएको उनको आरोप छ ।

पुनले बुधबार सामाजिक सञ्जालमार्फत भने, “शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो। तर तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन । छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा अल्झाइयो। त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” पुनले भने।