समाचार

ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ



काठमाडौँ, ७ माघ । मोरङको विराटनगरबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विराटनगर-४ स्थित नहर सडक छेउबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले को. ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार सुनसरी भोक्राहानरसिंह-५ का ३५ वर्षीय सुदिन मन्सुरीलाई शंका लागेर चेकजाँच गरेको थियो । खानतलासीका क्रममा मन्सुरीको ज्याकेटभित्र लुकाई छिपाई राखिएको अवस्थामा १४० ग्राम ब्राउन सुगर फेला परेपछि प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लियो ।

मन्सुरीको बयान र प्रारम्भिक अनुसन्धानपछि प्रहरीले यो कारोबारमा संलग्न अर्का व्यक्ति रोहित कार्कीलाई पनि पक्राउ गरेको छ । ५० वर्षीय कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीको सहयोगमा उनकै कोठाबाट नियन्त्रणमा लिइएको हो । कार्कीको कोठा खानतलासी गर्दा १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, ४६० ट्याब्लेट प्रतिबन्धित औषधी नाइट्राजाम, १८ बोतल कोरेक्स र ३३६ क्याप्सुल स्पास्मोप्रोक्सिवन बरामद भएको छ ।