समाचार

चोरीका सुनका गहना र नगदसहित दुई जना पक्राउ



काठमाडौँ, ९ माघ । काठमाडौँको सेतोपुल क्षेत्रबाट चोरीका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ६ गते राति अन्दाजी १० बजेको समयमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले शङ्कास्पद अवस्थामा रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार सङ्खुवासभाका ३७ वर्षीय केशव देवान र पाँचथरका २६ वर्षीय कमल लिम्बुलाई प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट चोरीका गहना र नगद फेला परेको थियो । पक्राउ परेका देवान हाल मैतीदेवी र लिम्बु रातोपुल क्षेत्रमा बस्दै आएका थिए ।

प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने दुई थान तिलहरी र दुई थान चन्द्रमा बरामद गरेको छ । यसका साथै ४९ हजार ३ सय रुपैयाँ नगद, ११ थान सिरिन्ज, २ थान एम्पुल लागुऔषध र चोरी गर्दा प्रयोग गरिने एक प्याकेट खुर्सानीको धुलो समेत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ । उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले थप कानुनी प्रक्रिया र चोरीका अन्य घटनामा संलग्नताबारे खोजी गरिरहेको छ ।