अर्थ

खानेतेलको मूल्यमा वृद्धि 



काठमाडौँ, १२ माघ । एक सातादेखि खानेतेलको मूल्यमा वृद्धि भएको छ ।

तेलको भाउ प्रतिलिटर ३५ देखि ४० रुपैयाँसम्मले बढेको छ । बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ९० देखि ३ सय रुपैयाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर ३ सय ८० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । व्यवसायीहरूका अनुसार पछिल्लो एक सातामा मात्रै तेलमा लिटरको ३५ देखि ४० रुपैयाँसम्मको वृद्धि देखिएको हो ।

काठमाडौं बबरमहलको एक किराना पसलमा भेटिएका जीतबहादुर गुरुङले एक साताअघि प्रतिलिटर २ सय ४५ रुपैयाँमा किनेको सनफ्लावर तेललाई आइतबार बिहान २ सय ९५ रुपैयाँ तिरे ।

बढेको खानेतेल कसरी र के कारणले बढाइयो उत्तर छैन कसैसँग । एक्कासि तेलको भाउ अत्यधिक बढ्दा घरायसी बजटेमै समस्या परेको उपभोक्ताले गुनासो गरेका छन् । उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको भाउ बढेकाले मूल्य बढाउनुपरेको दाबी गरेका छन् ।