काठमाडौँ, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वरिष्ठ नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको घटनाप्रति कडा आपत्ति जनाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् । खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई पार्टीबाट निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गरेका छन् । नेता खनालले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरेका छन् । उनले किन यस्तो कदम चाल्नुपर्यो भन्ने विषयमा पार्टीभित्र गम्भीर समीक्षा र दोहोरो छलफल हुनुपर्नेमा जोड दिए । पार्टीमा अधिनायकवादी शैली हाबी भएको भन्दै उनले सामूहिक निर्णय र नेतृत्व प्रणाली स्थापित गर्न नसके पार्टी दुर्घटनामा जाने चेतावनी दिएका छन् ।
उनले सामाजिक संजालमा भनेका छन्, ‘पार्टीलाई संस्थागत बनाऔं । यतिवेला हाम्रा सामु आम निर्वाचन २०८२ सन्निकट आइरहेको छ । मुलुकका विरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र चलिरहेको छ । जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेका छन् । यही कुरालाई ध्यानमा राखेर कम्युनिष्टहरू एकताबद्ध हुने प्रयत्न पनि भइरहेको छ । तर त्यो प्रयत्नलाई बल पुर्याउनुको सट्टा एकिकरण घोषणा भएको यति लामो समय पछि पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छा वमोजिम ठुलठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेल जस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारी सम्म पनि नहुनु र एकैचोटी सार्वजनिक संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन् । यदि यो नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेल सहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । अन्यथा, एकीकरण भई नसक्दै बिश्रृखलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ ।’










प्रतिक्रिया दिनुहोस्