अर्थ

राजस्व उल्लेख्य वृद्धि



रूपन्देही, १७ माघ । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा रु छ अर्ब ६३ करोड ७० लाख ५१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको यस कार्यालयले रु आठ अर्ब १७ करोड १९ लाख ९७ हजार सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार गत आव २०८१/०८२ को सोही अवधिभन्दा यस वर्ष ४७ दशमलव चार प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ । चालु आवको पुससम्म लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड बढी अर्थात् लक्ष्यभन्दा २३ दशमलव एक प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । गत आवको तुलनामा यो रु दुई अर्ब ६३ करोडले बढी हो ।

चालु आवको पुस महिनामा रु एक अर्ब २६ करोड ८७ लाख १३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको कार्यालयले रु एक अर्ब ६६ करोड ८७ लाख ९१ हजार अर्थात् लक्ष्यको ३१ दशमलव पाँच प्रतिशत बढी सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय भैरहवालाई चालु आव २०८२/०८३ मा रु १५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।