Banner News

माओवादी सरकारबाट तत्काल नहट्ने



काठमाडौँ, ३१ असोज । नेकपा माओवादी केन्द्र ले तत्काल सरकारबाट हट्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले तत्काल आफूहरु सरकारबाट नहट्ने जानकारी दिए । गृहमन्त्रीले भन्नुभयो निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भयो । निर्वाचन सार्ने विषय आफूहरुलाई मान्य हुँदैन । तत्काल हामी सरकार छाड्दैनौँ ।

कसले निर्वाचन कसरी सार्दैछ भन्नेबारेमा भने गृहमन्त्री शर्माले कुनै जानकारी दिनुभएन । उनले भन्नुभयो निर्वाचन सर्दैछ भन्ने जानकारी आएको हो । त्यसबारेमा थप जानकारी केही समयपछि थाहा पाइहाल्नुहुन्छ ।

आफ्नो पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले सरकारबाट फिर्ता भएको पत्र लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने क्रममै निर्वाचन सर्दैछ भन्ने जानकारी आएपछि पत्र बुझाउने काम स्थगन भएको उनको भनाइ छ ।

सरकारबाट आफूहरु फिर्ता हुने जानकारीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री महरा सरकारबाट फिर्ता हुन लागेको जानकारी गराउने कार्यक्रम थियो । उपप्रधानमन्त्री महरा देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गर्नुहुन्छ ।
गृहमन्त्री शर्माले निर्वाचन सुनिश्चितता भए आफूहरु एक मिनेट पनि सरकारमा नबस्ने प्रष्ट पार्नुभयो । मन्त्री शर्माले भने हामीलाई मन्त्री खान लोभ छैन, तर निर्वाचन सुनिश्चितता हुनुपर्छ ।