मनोरञ्जन

कविता खत्रीको नयाँ गीत ‘दुख्छ अचेल छातीको पाटो’ सार्वजनिक



काठमाडौँ, १९ माघ । लोकप्रिय गायिका कविता खत्रीको नयाँ गीत ‘दुख्छ अचेल छातीको पाटो’ सांगीतिक बजारमा सार्वजनिक भएको छ। गीतमा गायक राजु ढकालले पनि स्वर दिएका छन्। उक्त गीतको म्युजिक भिडियो कविता खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो।

समयको महत्त्व, समसामयिक यथार्थ र जीवनका गहिरा पीडालाई समेटिएको यस गीतले नेपाली समाजमा व्याप्त दुःख, संघर्ष र मौन वेदनालाई मार्मिक शैलीमा प्रस्तुत गरेको छ। भावनात्मक शब्द, सरल तर प्रभावकारी लय र सशक्त गायनका कारण गीतले श्रोताको मन छोएको छ।

गीतमा प्रसाद लामिछानेको शब्द रचना तथा राजु ढकालको लय रहेको छ। म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन्। भिडियोमा विजय पुन र अस्मिता रानापालको सशक्त तथा जीवन्त अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई दृश्यात्मक रूपमा अझ गहिरो बनाएको छ।

यसअघि ‘नमस्ते ढोगदिया’, ‘फिरफिरे पुतली’, ‘गरिबको जुनी’, ‘हातमा टल्के चुरा’ जस्ता चर्चित गीतमार्फत दर्शक–श्रोताको मन जितेकी कविता खत्रीको यो नयाँ गीतले पनि राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।