Banner News

प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न राष्ट्रपति पौडेलको आग्रह



काठमाडौँ, २० माघ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न आग्रह रहेका छन् ।

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले जापानको टोकियोमा रहेको नेपाली राजदूतावासको सोमबार अवलोकनका क्रममा नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको बताएका हुन् । राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, प्रविधि तथा मानव संशाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न थप सक्रिय कूटनीति अवलम्बन गर्न आग्रह गरे ।

विदेशमा रहेका नेपाली नियोगहरु नेपाल सरकारका विस्तारित अङ्गहरु भएकाले यसको सेवा प्रवाहमा सरलता, पारदर्शिता र समयबद्धता अनिवार्य हुनुपर्नेमा उनले जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

“यहाँका सरकारी निकाय, निजी क्षेत्र तथा शैक्षिक संस्थासँग निरन्तर संवाद र सहकार्य बढाउनेतर्फ विशेष ध्यान दिनुपर्दछ”, उनले भने, “नेपालमा वैदेशिक लगानी आकर्षित गर्न राजदूतावासको भूमिका अत्यन्त महत्वपूर्ण छ, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका सम्भावनाहरू जापानी लगानीकर्तामाझ प्रभावकारी रूपमा प्रस्तुत गरी प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न आग्रह गर्दछु ।”