काठमाडौँ, २० माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौँ जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटनामा भुटानका एकसहित तीन यात्रु घाइते भएका हुन् ।
मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएको सुमो सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय वृद्ध कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन् ।
घाइतेहरूलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको छ । भुटानी नागरिक कार्दुङको टाउको र जोशीको काँधमा भित्री चोट लागेको छ । उनीहरू हलेसीमा दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । हाल घाइतेहरूको अवस्था सामान्य छ ।
सुमोमा सात यात्रु सवार थिए । चार जना भने सकुशल छन् । सुमो चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ का ३७ वर्षीय बुद्धमान श्रेष्ठलाई प्रहरीचौकी च्यास्मीटारले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्