समाचार

संखुवासभामा ट्याक्टर दुर्घटना: एक कामदारको मृत्यु



संखुवासभा, २२ माघ । मकालु गाउँपालिका-५ मुढेस्थित उत्तर–दक्षिण कोशी राजमार्गमा बुधबार राति करिब ९ बजे भएको सवारी दुर्घटनामा एक कामदारको घटनास्थलमै मृत्यु भएको छ । 

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-६ स्थायी घर भएका नेमलाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक नेमलाल तामाङ निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत वसन्तपुर निर्माण सेवा प्रालिमार्फत सञ्चालनमा रहेको ना ५ त ७०८१ नम्बरको ट्याक्टरमा लेबरका रूपमा कार्यरत रहेको खुलेको डीएसपी कुमारप्रसाद मैनालीले बताए ।

चिचिलाबाट नुमतर्फ जाँदै गरेको उक्त ट्याक्टरमा सवार रहेका तामाङ अचानक चलिरहेको ट्याक्टरबाट सडकमा खस्दा पछाडिको चक्काले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेकाले पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।