समाचार

करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी



काठमाडौँ, २३ माघ । राजधानीको बाँसबारी क्षेत्रमा दिउँसै चोरी भएको छ ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-३ बाँसबारीमा डेरा गरी बस्ने सीता रावलको कोठाबाट बिहीबार दिउँसो करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

कैलालीको गोदावारी नगरपालिका-२ स्थायी घर भएकी ३६ वर्षीया रावलको कोठामा कोही नभएको मौका छोपी चोरले धनमाल हात पारेको प्रहरीले जनाएको छ । रावलका अनुसार कोठाबाट नगद तथा बहुमूल्य गरगहना चोरी भएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको व्यापक खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।