समाचार

आईसीसी टी-२० विश्वकप २०२६ : आज इंग्ल्यान्ड र नेपाल भिड्दै



काठमाडौँ, २५ माघ । आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आज दिउँसो ३:१५ बजे खेल्दै छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।

तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च रहनेछ ।

नेपाल र इंग्ल्यान्ड हालसम्म टी-२०आईमा खेलेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग यो पहिलो भेट हुनेछ ।

इंग्ल्यान्डले विश्वकपअघि श्रीलंकासँगको टी-२०आई शृंखला जितेर आएको छ । नेपालले मुम्बईमै भएको अभ्यास खेलमा एमसीए प्रेसिडेन्टलाई हराएको थियो भने क्यानडा र यूएईसँगको वार्म अप खेल जितेको थियो ।