विश्व

जापानमा ताकाइचीको गठबन्धनलाई दुई-तिहाइ बहुमत



एजेन्सी, २६ माघ । जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले मध्यावधि निर्वाचन मा ऐतिहासिक सफलता हासिल गरेकी छिन् । 

आइतबार सम्पन्न निर्वाचनबाट ताकाइचीको सत्तारुढ गठबन्धनले तल्लो सदनमा दुई-तिहाइ बहुमत प्राप्त गरेको बीबीसीले जनाएको छ ।

४६५ सदस्यीय तल्लो सदनमा ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले ३१६ सिट जितेको छ भने जापान इनोभेसन पार्टीसँगको गठबन्धनले कुल ३५२ सिट सुरक्षित गरेको छ ।

 यो जितसँगै उनले अब संसद्‌मा प्रतिपक्षसँग खासै सम्झौता नगरी आफ्ना आर्थिक र रक्षा नीतिहरू लागू गर्न सक्नेछिन्। ताकाइचीको जितको खबरले जापानी सेयर बजारमा उत्साह ल्याएको छ। सोमबार बजार खुल्नासाथ निक्की सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने जापानी मुद्रा येनमा सामान्य गिरावट देखिएको छ ।

कट्टर रूढिवादी पृष्ठभूमिकी ताकाइचीले सरकारी खर्च बढाउने, करमा सहुलियत दिने र राष्ट्रिय सुरक्षाका लागि रक्षा बजेटमा वृद्धि गर्ने बाचा गरेकी छिन् । यसका साथै उनले आप्रवासी नियमहरूमा कडाइ गर्ने र विदेशीहरूले जापानी जमिन खरिद गर्ने विषयमा पुनरावलोकन गर्ने योजना बनाएकी छिन् । यद्यपि, विश्लेषकहरूले उनको खर्चालु नीतिका कारण जापानको सुस्त अर्थतन्त्रमा थप अस्थिरता आउन सक्ने चेतावनी दिएका छन् ।