राजनीति

हामी देशलाई जिताउन हिँडेका हौँ: सभापति लामिछाने



रुपन्देही, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक परिवर्तनका लागि युवाशक्तिको नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नं १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनावलाई सामान्य राजनीतिक प्रक्रिया नभई इतिहास लेख्ने अवसरका रूपमा चित्रण गरे । उनले विगतका निर्वाचन परिणामतर्फ संकेत गर्दै धेरै उम्मेदवारले जिते पनि देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे । लामिछानेले जनताको शक्तिलाई कसैले पनि नजरअन्दाज गर्न नहुने बताए । उनले विगतमा सत्तामा पुगेका नेताहरू जनताको अपेक्षाभन्दा आफ्नै इतिहास र शक्ति केन्द्रित राजनीतिमा अल्झिएको आरोप लगाए ।

सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘यो सभा होइन, जमघट हो । मुलुकले इतिहास लेख्ने अवसर पाएको छ, यस्तो अवसर विरलै पाइन्छ । अब्बल युवा नेतृत्वले मात्रै देशको विकास गर्न सक्छ । धेरैपटक धेरै उम्मेदवारले जिते, तर देशले जितेन । हामी देशलाई जिताउन हिँडेका हौँ । जनताको ताकतलाई नजरअन्दाज गर्नु हुँदैन । अहिलेसम्म जनतालाई नजरअन्दाज गर्नेहरू आफ्नै इतिहासमा केन्द्रित भए, र हुनेछन् अब जनताले उनीहरुलाई पत्याउने छैनन् ।’