सम्पादकीय

एमाले सबैभन्दा धनी, माओवादी केन्द्र ऋणमा: ८६ दलले मात्र बुझाए बहीखाता



काठमाडौं, २८ माघ । निर्वाचन आयोगमा ११२ दल दर्ता छन् । तर, ८६ दलले मात्र आर्थिक वर्ष ०७२–७३ को आयव्यय विवरण बुझाएका छन् ।

दर्ता भएकामध्ये २६ दलले आयव्यय विवरण समयमा बुझाएनन् । विवरण बुझाएकामध्ये थोरै दलले मात्रै ऋण रहेको देखाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १२ मा दर्ता भएका दलले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आयव्यय विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ । लामो समय खर्च विवरण समयमा पेस नगर्ने दललाई आयोगले जरिवाना तथा खारेजीको प्रक्रियामा समेत लैजान सक्छ ।

एमाले सबैभन्दा धनी

प्रमुख प्रतिपक्षी दल एमाले सबैभन्दा धनी देखिएको छ । निर्वाचन आयोगमा बुझाएको आयव्यय विवरणअनुसार एमालेले आव ०७२–७३ मा सात करोड ५४ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । खर्च भने चार करोड ९९ लाख ४० हजार रुपैयाँ भएको छ । एमाले करिब अढाइ करोड रुपैयाँ नाफामा छ ।

कांग्रेसले गत आवको आम्दानीभन्दा खर्च बढी रहेको विवरण निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसले ६ करोड चार लाख ४१ हजार रुपैयाँ आम्दानी भएको र दुई करोड ९० लाख रुपैयाँ ऋण रहेको देखाएको छ ।

माओवादी केन्द्र २६ लाख ऋणमा

माओवादी केन्द्रले गत आवमा दुई करोड ८८ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । आम्दानीभन्दा बढी खर्च भएको भन्दै माओवादी केन्द्रले २६ लाख १२ हजार रुपैयाँ ऋण रहेको आयव्यय विवरण निर्वाचन आयोगमा बुझाएको छ ।

साना दल, ठूलो खर्च

निर्वाचन आयोगमा दर्ता भएका, तर जनताबीच कमजोर संगत रहेका साना दलले खर्च भने ठूलो देखिएका छन् । जनप्रजातान्त्रिक पार्टी नेपालले ७ लाख ४८ हजार ३ सय आम्दानी गरेको छ ।

३१ हजार ७ सय ऋण देखाएको लोक दलले ६ लाख ६० हजार ९ सय आम्दानी गरेकोमा ८० हजार ऋण देखाएको छ । नेपाल आमा पार्टीले ८ लाख २१ हजार आम्दानी गरेको देखाएको छ, तर खर्च पनि त्यति नै रकम देखाएको छ । देशभक्त समाजले ५ लाख ७२ हजार आम्दानी गरेकोमा ५ लाख ६१ हजार खर्च देखाएको छ ।

नेपाल समावेशी पार्टीले ६ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको भए पनि २४ हजार ऋण लागेको देखाएको छ । नेपाल परिवार दलले वर्षमा ५२ लाख ४३ हजार ९ सय ८० आम्दानी र ४८ लाख ७४ हजार रुपैयाँ खर्च देखाएको छ ।

५९ रुपैयाँ पनि ऋण

निर्वाचन आयोगमा आयव्यय विवरण बुझाएको नेपाल जनता पार्टीले ५९ रुपैयाँ २५ पैसा ऋण रहेको देखाएको छ । आम्दानी भने ४२ हजार रुपैयाँ मात्र भएको सो पार्टीको विवरण छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि ४ लाख ८५ हजार ६ सय ९५ रुपैयाँ आम्दानी भएको, तर ८ सय ५ रुपैयाँ ऋण लागेको देखाएको छ ।

युवा शक्ति नेपाल पार्टीले २ लाख ४४ हजार १ सय रुपैयाँ आम्दानी भएको, तर खर्चमा ६ सय रुपैयाँ ऋण रहेको उल्लेख गरेको छ । तामाङसालिङ राष्ट्रिय जनएकता पार्टीलाई पनि ५ सय रुपैयाँ ऋण लागेको छ । सो पार्टीले १ लाख ६७ हजार ३ सय रुपैयाँ आम्दानी गरेको विवरण छ ।

संसद्मा रहेका तर समयमा विवरण नबुझाउने दल

संसद्मा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र दलित जनजाति पार्टीले निर्वाचन आयोगले तोकेको मितिमा खर्च विवरण बुझाएनन् । समाजवादी फोरमले भने माघको पहिलो साता जरिवानसहित आयव्यय विवरण बुझाएको नयाँ पत्रिकामा समाचार छ ।