झापा, २७ माघ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सुरु गरेका विकासका आयोजनाहरूले जनताको जीवनस्तरमा परिवर्तन ल्याएको दाबी गरेका छन् ।
झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सबै एकजुट हुनुपर्ने भनाइ छ । अध्यक्ष ओलीले आफू २६–२७ सालदेखि नै यस क्षेत्रको विकासमा जोडिएको स्मरण गर्दै झापाको परिवर्तन आफ्नै आँखाले देखेको बताए । उनले विगतमा उपहास गरिएका हुलाकी राजमार्ग र ठूला पुलहरू आज यथार्थमा परिणत भएको बताए ।
विकासका कामहरू ठेकेदार वा इन्जिनियरको त्रुटिका कारण केही ठाउँमा रोकिएको भएपनि ती सबै समस्या समाधान गरिने उनको भनाइ छ । उनले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको संरक्षण राज्यको दायित्व भएको र एमाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।
देशको चौतर्फी विकासका लागि भौतिक पूर्वाधारको निर्माण, सामाजिक अन्धविश्वासको अन्त्य र सुदृढ राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिए । राजनीतिक रूपमा उनले एमालेको नेतृत्वमा मात्रै नेपालको अन्तर्राष्ट्रिय साख जोगिने र विकासले गति लिने दाबी गरे । उनले भ्रमको राजनीति गर्नेहरूबाट सचेत रहन र जातिवाद भन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।










प्रतिक्रिया दिनुहोस्