Banner News

प्रत्येक निकाय प्रमुखले आफ्नो संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ : प्रधानमन्त्री



काठमाडौँ, २८ माघ । प्रधानमन्त्री सुशीला कार्कीले प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्ने बताएकी छिन् ।

आज काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जुनसुकै कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुखलाई नै जिम्मेवार बनाइनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, “भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो एक शक्तिशाली निकायको व्यवस्था गरेको छ । यसले गर्ने अनुसन्धान र अन्य कारबाहीका कारण प्रत्येक कर्मचारी तथा राष्ट्रसेवक पदाधिकारीमा एक प्रकारको डर अवश्य पैदा भएको छ । भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अंगको नै हो । त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुख नै आफ्नो संस्था र संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ,” ।