काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत घोषणापत्रको सट्टा प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका छन् ।
आज सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति पाँचवर्षे योजनामा मात्र सीमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा उनले जोड दिए ।
सभापति थापाले प्रस्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय सुरु गर्ने बताए ।
उनले भने, “हामी प्रतिज्ञापत्र लिएर आउँछौँ । फागुनमा चुनाव हुन्छ, चैतमा सरकार बन्छ । कांग्रेसको सरकार बन्दै गर्दा कांग्रेसले वैशाख १ गते देशवासीका नाममा उभिएर पाँच वर्षको कुरा गर्दैन, ०८३ साल वैशाख १ महिना भित्रमा कुनकुन काम सक्ने हो भन्नेबारेमा देश र जनतालाई बताउँछ । फेरि जेठ १ गते आउँछ, जेठ १ गते फेरि प्रधानमन्त्री उभिन्छ र फेरि बताउँछ । यो गएको ३० दिनमा मैले यो–यो काम गरेँ, यो काम गर्न सकिनँ भन्छ र फेरि ३० दिनको हिसाब लिएर नागरिकका बिचमा आउँछ,” ।
साथै, आफूहरूले पाँच वर्षका निम्ति सरकार चलाउन चाहेको बताउँदै भने, “हामी पाँच वर्षका निम्ति सरकार चलाउन चाहन्छौँ, यसमा लुकाउने कुरा केही पनि छैन । तर प्रत्येक दिनको हिसाबकिताब होस् भन्ने चाहन्छौँ ।”
11 February 2026 11:54 AM










प्रतिक्रिया दिनुहोस्