कञ्चनपुर, ६ कात्तिक । कञ्चनपुरको महाकाली नगरपालिका–८ सुन्दरनगरका बिरबल गुरुङ नेपाल भारत सीमा क्षेत्रमा बसोबास गर्छन् । बाजेका पालादेखि गुरुङ सीमा क्षेत्रमा बसोवास गर्दैआएका छन् । झण्डै पाँच दशकदेखि गुरुङको परिवार सुन्दरनगरमा बस्दैआएको छ ।
महाकाली र जोगबुढा नदी पारिको गाउँ सुन्दरनगरमा बिरबल गुरुङ जस्तै डेढ सय परिवार पीडैपीडामा बाँच्न विवश छन् । जोगबुढा र महाकाली नदीमा पुल नभएका कारण मार खेप्दैआएका सुन्दरनगरवासी भारतीयबाट पनि उत्तिकै पीडित छन् । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०बाट उहाँहरू बढी प्रताडित छन् ।
एसएसबीले नेपाल भारत सीमा पिलर ७९६्१ नम्बरको दक्षिणतिर रहेको गुरुङको जमिन खनजोतमा अवरोध पु¥याएको छ । एसएसबीले नेपाली नागरिक बिरबल गुरुङको जमिनलाई भारतको जमिन भन्दै खनजोतमा अवरोध गरेको हो ।
बिरबल गुरुङले खनजोतका बेला एसएसबीले टर्चर दिएको बताउनुभयो । मैले आफ्नै खेत जोत्दा एसएसबीले मलाई नजोत भन्यो, उहाँले भन्नुभयो, बेला बेलामा एसएसबीले हामीलाई धम्क्याउने गर्छन् । पिलरको पश्चिम क्षेत्र तिरको जमिन नजोत्न बारम्बार चेतावनी दिएको गुरुङको दुःखेसो छ ।
गुरुङले विस २०२४ साल बाजेका पालादेखि बस्दै आए पनि भारतीय एसएसबीले दुःख दिएको बताउनुभयो । सुन्दरनगरका स्थानीयले सुन्दरनगरमा सीमा सुरक्षा बलको क्याम्प स्थापना गर्नसमेत माग गरेका छन् । स्थानीयले भारतीय सीमा सुरक्षा बलले २४ सै घण्टा सीमा क्षेत्रमा गस्ती गरे पनि नेपाली सीमा अधिकारी सीमा क्षेत्रमा कहिलेकाहीँ मात्रै देखिएको बताउनुभयो ।
सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नभएका कारण पनि बेला बेलामा भारतीय सीमा सुरक्षा बलबाट आफू पीडित र नेपालीको भूमि जोखिममा परेको विश्लेषण छ । महाकाली नगरपालिका–८ का वडा अध्यक्ष ओमप्रकाश रोकायाले सीमा सुरक्षा बल नभएका कारण पटक पटक भारतीयले सीमा क्षेत्रमा बस्दैआएका नेपाली नागरिकमाथि दुःख दिँदै आएको बताउनुभयो । उहाँले सुन्दरनगरमा देखिएको विवाद समाधानका लागि वडास्तरबाट पहलसमेत भएको बताउँदै सीमा क्षेत्रमा सुरक्षा बल आवश्यक रहेको औँल्याउनुभयो ।
गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्