समाचार

मासु खाँदा छाला नखानुः थापा



काठमाडौं । नेपाली काँग्रेस नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले मासु खाँदा छाला नखान आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटी मण्डपमा शिखर क्रेजी सेल मेलाको उद्वघाटन गर्दैै थापाले नेपालीहरुले आफ्नो खाने वानीमा परिवर्तन ल्याउन नसक्दा जुत्ता उद्योगको कच्चा पदार्थ छाला ठुलो मात्रामा विदेशबाट ल्याउनु परिरहेको बताए ।

उनले भने ‘मासु खादा छाला नखाने बानी गर्ने हो भने स्वास्थ्यलाई पनि फाईदा हुने, स्वदेशी छाला उद्योगलाईई पनि फाईदा हुने, त्यसैले मासु खाँदा छाला नखाने बानी गर्नु आवश्यक छ ।’

आफु स्वास्थ्य मन्त्री हुदाँ छाला भएको मासु खान प्रतिवन्ध लगाउन खोजेपनि तत्काल कायान्वयन गर्न गाह्रो हुने भएकाले नसकेको पुर्वमन्त्री थापाले अनुभव सुनाए ।

थापाले भने, “आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने र देशको अर्थतन्त्रलाई पनि योगदान दिने हो भने छाला भएको मासु खान छोड्नुपर्छ । देशले छाला आयातमा खर्चिएको रकम स्वतः घट्छ।”

उनले छाला सहितको मासु खाँदा छालाको जुत्ता चपाईरहेको छु भन्ने सम्झीयो भने छाला सहितको मासु खाने बानी कम हुने बताए । पूर्वमन्त्री थापाले न्यून विजकीकरण र चौरी पैठारीलाई निरुत्साहित गर्दै नेपाली जुत्ता उद्योगको प्रवर्दनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आयातमुखी भन्दा देशभित्रका उद्योगको प्रवर्द्धन गर्ने सरकारको नीति हुनुपर्ने बताए । नेपाली जुत्ता उद्योग देशको माग पुरा गर्न सक्षम भएपनि नीतिगत समर्थन नपाउँदा उद्योग फस्टाउन नसकेको र नेपाली जुत्ता अपेक्षित सस्तो हुन नसकेको बताए ।

शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले ५ सय भन्दा वढी डिजाइनका जुत्ता चप्पलहरु मेलामा राखिएको बताए । २० दिनसम्म सञ्चालनमा रहने मेलामा जाडोका लागि लक्षित कपडा तथा छालाका जुत्ता चप्पलहरु रहेको प्रसाईले बताए ।

उनले भने, ’मेलामा छानी छानी कपडाको जुत्ता तथा स्पोर्टस सुजहरु रोजेर लिन सकिन्छ। ’ मेलामा ५० भन्दा वढी नयाँ आइटम सहित पाँच सय भन्दा बढी डिजाइनका जुत्ता राखिएका छन् ।