Banner News

ए विद्यार्थी भाई, गाई लिएर कता ?



निर्मल भट्टराई

एउटा कलेज ड्रेस लगाएको गाई लगारेर जाँदै थियो । सधैं झोला बोकेर कलेज जाने विद्यार्थी आज एकाएक गाई डोहोर्याएर हिडेको देखे पछि मैले सोधें—“ए भाई, आज एका विहानै गाई लिएर कता ?
“कलेज हिडेको नि ?

“कलेज रे ? कलेज जान किन गाई ? किताब कपीको झोला खै त रु”
“दाइलाई थाहा नै छैन । स्ववियुको चुनाव आउदैछ क्या ? म पनि यसपाली स्ववियुको सभापतिको उम्मेद्वार बन्दैछु ।”
“मैले बुझिन । के स्ववियुको चुनावमा गाईको के काम रु गाईले भोट हाल्छ कि क्या हो तिमीहरुको चुनावमा ?

“कुरा त्यसो होईन क्या ?
“के हो कुरा भन न त ।”

ऊ भन्न थाल्यो—“हाम्रो देश अहिले गम्भीर संकटमा छ । राष्टियतामाथि कालो वादल मडारिएको छ । हाम्रो पार्टी बाहेक अरु सबै पार्टीहरु राष्टवादी रहेनन् । देश जोगाउन हामी अत्यन्त संवेदनशील भएर लागि परेका छौं । अहिले हाम्रो पढाइभन्दा देश जोगाउन चाहन्छौं । त्यही भएर यो गाइ आजदेखि हाम्रो कलेजको कम्पाउन्डमा यो गाई बाँधिने छ । ”
“कलेजमा गाई बाँधेर राष्टियता जोगाउने ? म अक्क न वक्क भएं ।

उसले प्रष्ट्याउदै भाषण शैलीमा भन्दै गयो —“स्ववियुको चुनावमा हामी राष्टवादको नारा घन्काई राखेका छौं । नारा घन्काउदा मात्र विद्यार्थीहरु आकर्षित नहुने भएकोले कलेजमा नेपालका राष्टिय चिन्हहरुको व्यापक प्रदर्शन गर्ने हाम्रो अभियान छ । सबै कलेजतिर राष्टिय झण्डा फहराई सकेका छौं । अब क्रमैसंग अरु राष्टिय चिन्हहरु प्रदर्शन गर्ने योजनामा छौं । त्यही भएर आजदेखि कलेजमा गाईको प्रदर्शन गर्न लागिएको हो । हाम्रा प्रखर राष्टवादी राजनेताले सम्भव भएका सबै राष्टिय चिन्हहरुको कलेजमा व्यापक प्रदर्शन गर्ने आदेश दिनुभएको छ ।”

मैले आफू विद्यार्थी हुँदा स्ववियुको चुनाव सम्झें । त्यो बेलाको चुनाव र अहिलेको चुनावमा आएको परिवर्तन देखेर म चकित भएं । सोचें— तव न लोकतन्त्र । तव न गणतन्त्र ।
मैले त्यो गाई तानेर हिड्न हतार गरिरहेको विद्यार्थीलाई फेरि रोकेर सोधें—“अरु राष्टिय चिन्हको कलेजमा कसरी प्रदर्शन गर्छौ त भाइ ?
“हाम्रो संगठनको हिजोको बैठकबाट सबै निर्णय भईसकेको छ । हाम्रा सबै महिला साथीहरुले भोलिदेखि सिंदुर लगाएर आउनुहुन्छ । सकेसम्म सबैलाई सिंदुर लगाउन प्रेरित गर्नुहुन्छ । लेकतिरका साथीहरुले लालीगुँरासका स–साना रुख नै उखेलेर कलेज कम्पाउण्डमा रोप्नुहुन्छ । ”
“अनि डाँफे चाहिँ कसरी प्रदर्शन गर्ने नि ?

उसले प्रस्टयायो—“भोलि नै एउटा हेलिकप्टर चार्टर गरिनेछ । हिउँमा खेलेर हुर्केका शेर्पा साथीहरुको एक टोली सगरमाथा बेसक्याम्पतिर पठाइनेछ । साथमा केही अत्याधुनिक राइफल समेत पठाइने छन् । सकेसम्म डाँफेलाई जिउँदै समातेर ल्याएर कलेज कम्पाउन्डमा ठूलो पिंजडाभित्र प्रदर्शन गरिनेछ । सो नसके हाम्रा सार्प सुटरले डाँफेको शिकार गर्नेछन् । त्यो मृत डाँफेलाई एउटा अग्लो बाँस गाडेर त्यसको टुप्पोमा निर्वाचन अवधिभर झुण्ड्याइनेछ ।”

“ अनि खुकुरी ?”
उसले घुँडासम्म आउने मोजा सारेर एउटा ब्राण्ड न्यु खुकुरी देखाउदै भन्यो—“यस्ता खुकुरी हाम्रा सबै साथीहरुले बोक्नु भएको छ । चुनाव नजिकिदै जाँदा यथोचित यिनीहरुको प्रदर्शन गरिनेछ । यो हाम्रो सबभन्दा प्रभावशाली प्रदर्शन हुनेछ । यसैले हामीलाई चुनाव जिताउनेछ । ”
चुनाव प्रचारशैलीबारे ईति वृतान्त सुने पछि मलाई लाग्यो—यिनीहरुले पक्का चुनाव जित्छन् ।
त्यो विद्यार्थी भाइलाई अग्रीम शुभकामना दिंदै मैले अन्त्यमा सोधें—“ यसरी आकाश पाताल जोडेर चुनाव जिते पछि चाहिं के गर्नुहुन्छ ?

एसले नअल्मलिइ उत्तर दियो“हाम्रा महान अग्रजले गरेजस्तै हो, नेता बन्ने , गाडी किन्ने ।”
ऊ हतारियो । भाषण गर्नुछ भन्दै गाई धपाउन थाल्यो । गाई ड्वाँ ड्वाँ कराउदै थियो । कुन्नी किन हो, त्यो गाई कलेजतिर जान मानिरहेको थिएन ।