सम्पादकीय

युरिया मलमा करोडौं घोटला



काठमाडौं, १४ कार्तिक । कृषि सामग्री कम्पनीले हालै भित्र्याएको युरिया मलको बोरामा औसत पाँच किलो कम मल भेटिएको छ । कम्पनीका उच्च अधिकारीको मिलेमतोमा प्रतिबोरा तीन किलोदेखि १० किलोसम्म कम परिमाणमा प्याकिङ गरिएको मल किसानलाई बिक्री गर्न लागिएको रहस्य खुलेको छ । कम्पनीले ५० किलोको मूल्य लिएर किसानलाई ४० देखि ४७ किलो तौल भएका युरिया मलका बोरा बिक्री गर्न लागेको तथ्य बाहिर आएको छ ।

आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट ‘गभर्मेन्ट टू गभर्मेन्ट’ सुविधाअन्तर्गत भित्र्याइएको मलको बोरामा कम परिमाणमा मल भेटिएको हो । कम्पनीले डेढ साताअघि मात्रै भित्र्याएको २० हजार मेट्रिक टनमध्ये विराटनगरस्थित क्षेत्रीय कार्यालयमा आइपुगेको ५० हजार बोरा (दुई हजार पाँच सय मेट्रिक टन)  कम परिमाणमा भेटिएको हो । स्रोतका अनुसार गोदाममा आइपुगेका ती सबै बोरामा तीन किलोदेखि १० किलो हाराहारीमा कम मल फेला परेको छ।

स्रोतका अनुसार ५० हजार बोरामा औसत पाँच किलो कमका दरले हिसाब गर्दा ५० हजार बोरामा झन्डै दुई लाख ५० हजार किलो मल कम हुन्छ । भारतसँग खरिद गरिएको प्रतिकिलो ३३ रुपैयाँ ७६ पैसाका दरले खरिद मूल्य जोड्दा ५० हजार बोरामा एक करोड मूल्यबराबर कम परिमाणमा मल प्याकिङ गरिएको छ ।

तिहारदेखि भारतबाट आउन सुरु भएका मलका बोरामध्ये सोमबारसम्म परीक्षण गर्दा करिब तीन हजार बोरा ‘अन्डर वेट’ भएको अवस्थामा फेला पारिएको क्षेत्रीय कार्यालय प्रमुख गोविन्दप्रसाद पराजुलीले दाबी गरे । ‘अहिलेसम्म करिब तीन हजार बोरा कम तौलको भेटिएको छ, हामीले ती बोरा बिक्री गर्न बन्देज गरी छुट्टै राख्न लगाएका छौं’, क्षेत्रीय प्रमुख पराजुलीले भने । कम्पनीसम्बद्ध स्रोतले पराजुलीको भनाइप्रति असहमति जनाउँदै सबै बोरा कम परिमाणको आएको दाबी गरेको छ ।

‘सबै बोरामा तीनदेखि १० किलोसम्म कम परिमाणमा मल भेटिए पनि कम्पनीले उक्त कुरालाई लुकाएर राखेको छ’, स्रोतले भन्यो, ‘कम्पनीका उच्च निकायले केही थानमा मात्रै भेटियो भने पनि ५० हजार बोरा नै कम परिमाणमा आएको छ । कम परिमाणमा आएका बोरा धमाधम विभिन्न डिलरमार्फत किसानलाई बिक्री गर्न आठ वटा जिल्लामा पठाउन थालिएको छ ।’अन्नपूर्ण पोस्ट्मा समाचार छ ।