सम्पादकीय

केन्द्रीकृत संरचनाले वैदेशिक रोजगारीमा अप्ठेरो



काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जान खोजेका तेह्रथुम, म्याङलुङका प्रकाश लिम्बु एक महिनायता तीनपटक काठमाडौं आए ।

असोज पहिलो साता मेनपावर कम्पनीलाई राहदानी बुझाउन काठमाडौंं आएका ३० वर्षीय लिम्बु त्यसपछि स्वास्थ्य परीक्षण गर्न र तेस्रोपटक अभिमुखीकरण तालिममा सामेल हुन राजधानी आए ।

एक महिनाको अवधिमा तीनपटक काठमाडौं आइसकेका कारण उनी चार दिनअघि पुनःगाउँ फर्के । ‘एक महिनामा काठमाडौं र जिल्ला तीनपटक आहोरदोहोर गर्नुपर्दा २० हजार रुपैयाँ खर्च भइसक्यो,’ तेह्रथुम फर्कनुअघि उनले भने, ‘मलेसिया उड्नुअघि कति पटकसम्म काठमाडौं आउनुपर्ने हो, ठेगान छैन ।’

मेनपावरले रोजगारदाता कम्पनीका लागि जतिसक्दो चाँडो पठाउने आश्वासन दिए पनि लिम्बुलाई भने मेनपावरले भने अनुसार चाँडो भिसा आएर मलेसिया जान पाइएला भन्ने लागेको छैन । काम गर्दागर्दै साउदीमा निधन भएका रोल्पा, मिरुलका रामबहादुर पुनका आफन्त भदौयता चारपटक काठमाडौं आए ।

साउदीमा मृत्यु भएका २४ वर्षीय रामबहादुरको शव झिकाउन पटकपटक राजधानी आएका पुन परिवारले आतेजाते र होटल खर्चमा २५ हजार रुपैयाँ बढी उडाइसकेको छ । पीडित परिवारका अनुसार दुईपटक त साउदीमा मृत्यु भएका व्यक्तिको शव झिकाउने कार्यालय पत्ता लगाउन नसकी गाउँ फर्कनु पर्यो । नागरिकमा समाचार छ ।