Banner News

महानगरको विकासमा जुट्दै मेयर शाक्य, कामको अवलोकन गर्न आफै निस्के सडकमा



काठमाडौं, १९ कात्तिक । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य आफै विकास निर्माणका काममा सक्रिय हुन थालेका छन् ।

काममा बढी विश्वास गर्ने र चर्चामा कम आउने स्वाभावका मेयर शाक्यले दशैँ–तिहार र छठ लगत्तै विकासका काममा गति दिन थाल्नु भएको हो ।

उहाँ आफैँ विकास निर्माणका गतिविधि अवलोकन गर्न सडकमा निस्किन थाल्नु भएको छ । शनिबार नरदेवीमा भैरहेको सडक निर्माणको अवलोकनका लागि पुग्नुभएका शाक्यले स्थानीयसँग विकास निर्माणका बारेमा छलफल मात्र गर्नुभएन उहाँले अब दिनरात महानगरको विकासमा सक्रिय बन्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

जनप्रतिनिधिलाई आफ्नै घर–आँगनमा देखेपछि स्थानीयवासी समेत उत्साहित भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्य वर्षातका बेला काठमाडौं उपत्यकाभित्रका खाल्डाखुल्डी देखेर आफू लज्जित भएको भन्दै १५ दिनभित्र काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न मन्त्री र सचिवलाई निर्देशन दिनुभएको थियो ।

मेयर शाक्यले भने वर्खाका बेला पूर्वाधार विकास गर्दा बजेटको मात्रै नास हुने भन्दै वर्षात सकिएपछि सडक निर्माणका काम थाल्नु पर्ने अडान लिनुभएको थियो । ‘मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ढलको समस्याका कारण वर्षातका बेला काठमाडौं उपत्यकामा सर्वसाधारणहरूले ठूलो सास्ती खेप्दै आएका छन् ।

पानी परेका बेला सडकको बीचमा रहेका खाल्डा, हिलो र ढल व्यवस्थापन नहुँदा दुर्घटना बढी हुने गरेका छन्,’ मेयर शाक्यले भन्नुभयो, ‘वर्षातका बेला सडक निर्माण कार्य अघि बढाउनु भनेको बजेटको मात्र नास गर्नु हो । अब वर्षात सकियो । सडक निर्माणका कामले गति लिनेछन् ।’

उहाँले नरदेवी मात्र होइन महानगरका सडक निर्माणको कामलाई महानगरले निरन्तरता दिने बताउनुभयो । उहाँले मेयर निर्वाचित भएर आएपछि निरन्तर महानगरको विकासमा आफू सक्रिय भएको भन्दै छिट्टै कामको परिणाम खोज्ने र आलोचनमा उत्रिहाल्ने सस्कारका कारण केही समस्या भएको पनि गुनासो गर्नुभयो ।

उहाँले सञ्चार माध्ययमलाई छिट्टै आलोचना गरिहाल्ने भन्दा पनि केही समय धैर्य गर्न आग्रह गर्नुभयो । ‘काममा केही ढिलासुस्ती अवश्य भएको छ,’ उहाँले भन्नुभयो, ‘तर, केही पनि काम नै भएको छैनन् भन्ने कुरा पनि सत्य होइन ।’

उहाँले केही कामहरु अघि बढाउन प्राविधिक रुपमा पनि समस्या भएको भन्दै विस्तारै हल गर्दै अघि बढने बताउनु भयो । उहाँले आफू निर्वाचित भएर आएपछि मासिक सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, ८४ वर्ष पुगिसकेका वृद्धवृद्धालाई १० हजार मा दुई हजार थप गरी १२ हजार रुपैयाँ बनाउने जस्ता कामको थालनी गरेको स्मरण समेत गराउनुभयो ।

‘भत्ता रकम सम्वन्धित व्यक्तिको बैंक खाता मार्फत सिधै पठाउने व्यवस्थाको शुरुवात भएको छ,’ उहाँले भन्नुभयो, ‘ग्रिन एण्ड क्लिन काठमाडौं अभियानको कार्य शुभारम्भ गर्ने, महानगरपालिकाको सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ गर्ने, ई गभरनेन्स प्रणाली शुरु गर्ने, सम्पूर्ण कार्यकक्षहरुमा सीसीटिभी जडान गर्ने जस्ता कार्य पनि अघि बढेका छन् ।’

उहाँले ई गभरनेन्स प्रणाली शुरु गर्ने, सम्पूर्ण कार्यकक्षहरुमा सिसिटिभी जडान गर्ने, भुकम्पले नष्ट गरेको र असुरक्षित घरहरुको पुनर्निर्माणका लागि राज्यले व्यवस्था गरेको अनुदान र सहुलियत ऋण प्राप्तिका लागि सहजीकरण गर्ने, नदी किनारमा रहेका मठमन्दिरको संरक्षण सहितको बाग्मती, विष्णुमती, रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थालनी गर्ने जस्ता काम अघि बढेको पनि जानकारी दिनुभयो ।