मनोरञ्जन

डिप्रेसनबाट इलियाना मुक्त



मुम्बई २२ कार्तीक । एजेन्सी । बलिउड अभिनेत्री इलियाना डिक्रुजाले मानसिक तनावका कारण लामो समय डिप्रेसन भएर धेरैपटक आत्महत्याको कोसिस गरेको बताएकी छन् । तर अहिले आफू डिप्रेसनको समस्याबाट मुक्त भएको इलियानाको भनाइ छ ।

बलिउडमा संघर्ष गर्नेक्रममा आफू असफल भएपछि आत्महत्याको कोसिस गरेको उनले खुलासा गर्दै भनेकी छन्, ‘म बलिउडमा सुरुका दिनमा संघर्षको क्रममा थिएँ, तजाततैबाट असफलता मात्र भोग्नुपरेपछि डिप्रेसनको सिकार भएर आत्यहत्याको बारेमा मात्र सोच्ने गर्दथें ।’

अभिनेत्री दीपिका पादुकोणले गत वर्ष आफू डिप्रेसनको सिकार भएका कारण आत्महत्या गर्ने चाहना जागेको बताएकी थिइन् । यतिबेला इलियानाले आफू पनि डिप्रेसनको सिकार भएको खुलासा गरेकी हुन् ।

डिप्रेसन मानसिक समस्या भएकाले यसलाई समयमै उपचार गर्न आवश्यक भएको पनि इलियानाले बताएकी छन् । इलियानाले ‘मेन्टल हेल्थ’ २१औं सम्मेलनमा डिप्रेसनबारे आफ्नो भनाइ राख्दै यो समस्याबाट आफू निकै पीडित भएको र अहिले ठीक रहेको भनाइ राखिन् । एक साथीको सहयोगले आफूले मानसिक चिकित्सककहाँ उपचार गराएपछि ठीक भएको पनि यी अभिनेत्रीले बताएकी छन् ।

विभिन्न कारणले मानसिक समस्या हुने भएकाले त्यो समस्यालाई समयमै पत्ता लगाएर आफूलाई सकरात्मक सोचमा परिवर्तन गरेर अघि बढे डिप्रेसनको समस्याबाट मुक्ति पाइने पनि यी अभिनेत्रीको सुझाव छ ।