Banner News

वामको साथले लिङ्देन उत्साहित, सिटौलालार्इ बिरासत जोगाउने चुनौती



लक्ष्मी काफ्ले
झापा,२२ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पार्टीले सुरुमा समानुपातिक सूचीमा राख्यो । समानुपातिकमा सुरक्षित भइसकेका सिटौलाले प्रत्यक्षमा नै चुनाव लड्ने भन्दै तीब्र असन्तुस्टि जनाए ।

सिटौलालाई समानुपातिकमा राखेको कांग्रेसले झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल पनि गरिसकेको थियो । कांग्रेसको साथ पाएपछि चुनाव जित्ने कुरामा ढुक्क थिए राप्रपाका महामन्त्री तथा उम्मेदवार राजेन्द्र लिङ्देन । तर, चुनाव तालमेलविपरित कांग्रेसले लिङ्देनको प्रतिस्पर्धीकारुमा सिटौलालाई उठाउने निर्णय गर्यो ।

कांग्रेसले धोका दिएपछि झापा क्षेत्र नम्बर ३ मा लिङ्देनलाई एमाले–माओवादी गठबन्धनले काँध थापे । अब सिटौला एक्लै चुनावी मैदानमा छन् भने लिङ्देन तीन पार्टीको शक्तिसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तो छ सिटौलाको अवस्था

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजय भोगको कांग्रेस नेता सिटौलालाई यो पटक त्यहीँबाट चुनाव जित्नु फलामको चिउरा चपाए बराबर हुनेछ । तीन दलललाई हराएर नतिजा आफ्नो पक्षमा पार्न सिटौलाका अगाडि अहिले वाम गठबन्धन पनि तगारो भएको छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सिटौलालाई जित हात पार्न त्यति सजिलो छैन । एमाले, माओवादी केन्द्र र राप्रपाले सिटौलाविरुद्ध मोर्चाबन्दी कसेपछि सिटौलाको संकट बढेको छ ।

२०४८ सालदेखि झापाबाट निर्वाचित हुँदै आएका सिटौला पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उम्मेदवार पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए । यद्यपि, २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने सिटौला झापा–३ बाटै विजयी भए ।

तर, यसपटक स्थिति भने त्यति सहज छैन । दोस्रो संविधानसभा निर्वाचनमा सिटौलासँग नै पराजित राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन यसपटक पनि उनैसँग भिड्दैछन् । लिङ्देनले यसपटक एमाले र माओेवादी केन्द्रको समेत समर्थन पाएकाले उत्साहित छन् ।

नेपाली कांग्रेसभित्र तेस्रो धारको रुपमा आफूलाई स्थापित गराएका सिटौलाका लागि यो निर्वाचन चुनौती र अवसर दुबै एकसाथ आएका छन् । उनकै कारण राप्रपासँग कांग्रेसको सम्बन्ध बिग्रन पुगेको छ । राप्रपाकै महामन्त्री लिङ्देनसँग सिटौला भिड्दैछन् । पार्टीभित्र तेस्रो धारको प्रतिनिधित्वको विषयलाई टिकाइराख्न पनि सिटौलालाई यसपटक चुनाव जित्नैपर्ने बाध्यता पनि छ ।

एमाले–माओवादीको साथले उत्साहित लिङ्देन

राप्रपा वाम गठबन्धनसँग मिसिएपछि यसपटक झापा क्षेत्र नम्बर–३ मा लिङ्देन बलियो अवस्थामा देखिएका छन् । स्थानीय तहको मतपरिणामलाई हेर्ने हो भने यस क्षेत्रमा वाम गठबन्धन ९एमाले, माओवादी केन्द्र र राप्रपा० ले ४३ हजार ६ सय ३० मत पाएको देखिन्छ ।

कांग्रेस नेता सिटौलाको गृहनगरसमेत रहेको यस क्षेत्रमा कांग्रेसले १८ हजार २ सय ६० मत पाएको थियो । यस आधारमा हेर्ने हो भने सिटौलाभन्दा लिङ्देन २५ हजार ३ सय ७० मतले अगाडि देखिन्छन् । यस क्षेत्रमा १ लाख १४ हजार ५ सय ८६ मतदाता छन् ।जनता समाचार