सम्पादकीय

वाम गठबन्धनको संयुक्त कार्यक्रम सुरु



काठमाडौं २३ कार्तीक । वाम गठबन्धनले काठमाडौं उपत्यकामा संयुक्त कार्यक्रम थालेको छ । एमाले–माओवादी केन्द्रको चुनावी तालमेलसँगै पार्टी संयुक्त कार्यक्रम थालिएको हो । १० मंसिरका लागि घोषित पहिलो चरणको चुनावी प्रचार मध्यतिर पुग्दा २१ मंसिरको दोस्रो चरणको चुनावी तयारीका सिलसिलामा दुई वामपन्थी दलले संयुक्त अभ्यास अघि बढाएका हुन् । माओवादी केन्द्र काठमाडौं–२ ले बुधबार आयोजना गरेको उक्त चुनावी कार्यक्रममा सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार एमाले वरिष्ठ नेता माधव नेपाललाई प्रमुख अतिथि बनाइएको थियो भने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश गौतमसहितका केन्द्रीय तहका आधा दर्जन नेता अतिथिका रूपमा सहभागी थिए ।

भेलाको अध्यक्षता माओवादी केन्द्र काठमाडौं–२ का संयोजक विमल ढुंगेलले गरेका थिए । त्यस क्षेत्रमा प्रदेशतर्फ भने एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य सानु श्रेष्ठ र काठमाडौंका नेता मणिराम फुयाँल उम्मेदवार छन् । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले नेपालजस्तो सानो मुलुकमा एउटै विचार र लक्ष्य लिएका धेरै पार्टी आवश्यक नभएकाले दुई ठूला वामपन्थी दल एमाले र माओवादी मिलेर एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अभियान सुरु भएको बताए । दुई पार्टीबीचको एकता राजनीतिक स्थायित्वसहित मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि भएको स्पष्ट पार्दै नेपालले यसलाई कसैले पनि अन्यथा ढंगले बुझ्न नहुने बताए । ‘विचार मिल्ने पार्टीहरू नजिक हुँदैमा त्यसलाई कसैले पनि अन्यथा ढंगले लिनुहुन्न, आत्तिएर कम्युनिस्ट अधिनायकवाद आउँछ भन्ने भ्रम फिजाउनु आवश्यक छैन,’ नेपालले भने, ‘हामी एकदलीयता होइन, विचारका आधारमा बहुदलीय प्रतिस्पर्धा गर्न चाहन्छौं, लोकतान्त्रिक व्यवस्थाबाट कदापि विचलित हुँदैनौं ।’ कांग्रेसले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि कहिल्यै अग्रसरता नदेखाएकाले राष्ट्रियता जोगाउन कम्युनिस्टहरूले मुलुकको नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको उनको जिकिर थियो । ‘लोकतन्त्रको संघर्षमा जहिले पनि कम्युनिस्टहरू अग्रपंक्तिमा रहे पनि कांग्रेसले आफूलाई मात्र प्रजातान्त्रिक पद्धतिको मसिहा सम्झ्यो । हामीचाहिँ व्यवहारमै लोकतान्त्रिक पद्धति स्थापित गर्न चाहन्छौं,’ नेपालले भने । राजधानी बाट ।