राजनीति

काठमाडौँ महानगरपालिका बनाउने जिम्मा जनताले मलाई दिएका छन्ः मेयर शाक्य



काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष भरतमोहन अधिकारीले वाम गठबन्धनको नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नम्बर–९ ले कलंकीको लाम्पाटीमा आयोजना गरेको वाम गठबन्धनको संयुक्त भेलालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले वाम प्रगतिशील शक्तिको संयुक्त सरकाले मात्र मुलुकमा स्थीरता कायम हुने पनि दाबी गर्नुभयो ।

‘सामाजिक एकता र आर्थिक समृद्धिका लागि वाम प्रगतिशील शक्तिको संयुक्त सरकार आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले अहिले वाम प्रगतिशील शक्तिलाई सबैले जिताउनुपर्छ । उहाँले एमाले नेतृत्वको सरकारले ०५१ सालमा समाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको स्मरण गर्दै भन्नुभयो– ‘अहिले सबै वृद्ध–वृद्धाले एमालेलाई वृद्ध–वृद्धाको पार्टी भनेर चिनेका छन् ।’

कार्यक्रममा एमाले पोलिट्व्युरो सदस्य वेदुराम भुसालले आर्थिक समृद्धिका लागि वाम प्रगतिशीले शक्तिको सरकार आवश्यक भएको दाबी गर्नुभयो । काठमाडौँ क्षेत्र नम्बर–९ का प्रतिनिधिसभा तर्फका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एमाले र माओवादीको पहलमा मुलुकका सबै वामपन्थीहरुलार्ए एक ठाउँ ल्याउने प्रयासका लागि वाम एकता गरेको दाबी गर्नुभयो ।

‘यो निर्वाचनमा जसरी तालमेल भएको छ यसले मुलुकका सबै वाम शक्तिहरु एक ठाउँमा आउने विश्वाले जनतामा एउटा ठूलो उत्साह पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले मेची–महाकालीको निर्वाचन हेर्दा देश सम्पूर्ण रुपमा वामपन्थीमय भएको छ ।’

उहाँले मुलुकभरीका जनता आगामी मंसिर १० र २१ को प्रतिक्षामा रहेको पनि दाबी गर्नुभयो । ‘यो वाम तालमेल नेपाली जनताको चाहना, माग र राष्ट्रिय आवश्यकता आधारमा भएको हो,’ उहाँले भन्नुभयो, ‘यसले अब हुने नेपालको इतिहासमा पहिलो पटक हुन लागेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्वाचनमा वाम शक्ति दुई–तिहाई बहुमतसहित विजय हुने निश्चित छ ।’

उहाँले कम्युनिष्ट पार्टीबीचको एकताको लागि यो चुनाव भएको भन्दै चुनावी परिणामपछि गठन हुने वामपन्थी सरकारले ५ वर्षमा स्थायित्व प्राप्त गर्ने पनि दाबी गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिले कांग्रेस नेतृत्वको सरकार रहेको भन्दै काठमाडौँमा विकासका कामले गति लिएनन् भन्दै वाम शक्तिलाई असफल बनाउने प्रयास भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘पहिला काठमाडौँका मेयरले केही काम गरेनन् भनेर आलोचना गर्नेहरु अहिले कामले गति लिन थालेपछि फेरि विभिन्नखाले आरोपमा उत्रिन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिका बनाउने जिम्मा मलाई यहाँका जनताले दिएका छन् । म जनताको मतको कदर गर्दै कामलाई गति दिनेछु ।’

काठमाडौँ क्षेत्र नम्बर–९ क का वाम गठबन्धनका तर्फका उम्मेदवार डा. अजयक्रान्ति शाक्यले काठमाडौँ धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरात्वात्कि महत्वको जिल्ला भएको भन्दै यहाँका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवद्र्धन गर्दै काठमाडौँ क्षेत्र नम्बर–९ ‘क’ लाई ‘हेरिटेज संरक्षण क्षेत्रका रुपमा स्थापित गर्ने बताउनुभयो ।