Banner News

देशलाई आर्थिक समृद्धितर्फ लैजान विशेष योगदान गर्छुः डा. अजयक्रान्ति शाक्य



काठमाडौँ क्षेत्र नम्बर ९ ‘क’ बाट प्रदेशसभा उम्मेदवार

नेपालको राजनीति निश्चित पहुँचवालाहरुको पहुँचभित्रै सिमित रह्यो भन्ने आरोप लाग्ने गरेको छ, तपाईलाई कस्तो लाग्छ ?

राजनीतिमा लाग्दा केही पाउँछु भनेर आफ्नो व्यक्तिगत स्वार्थ लिएर लाग्यो भने त्यस्ता नेता–कार्यकर्ताहरु त्यतिमा मात्र सिमित रहन्छन र त्यस्ता नेता–कार्यकर्ताबाट जनताले धेरै अपेक्षा गर्न सक्दैनन् ।

तपाईले भनेको कुरा एक हदसम्म ठिक हुनसक्छ । तर, अघि मैले माथि उल्लेख गरेको स्वाभाव भएका व्यक्तिका नेता–कार्यकर्ताका लागि मात्र त्यो हो ।  राजनीतिका माध्ययमबाट  समाज सेवागर्न, देश र जनताका लागि बलिदान दिनत यार भएर धैर्य पूर्वक राजनीतिमा लाग्नेका लागि त्यो हुँदैन । पार्टीले पनि त्यस्ता व्यक्तिहरुले गरेको कार्यको मूल्याकंन गर्छ जस्तो मलाई लाग्दछ ।

चार विषयमा स्नातक, तीन विषयमा स्नातकोत्तरसँगै विद्यावारिधी गर्नुभएको छ । राजनीति नगरेर त्यही क्षेत्रबाट देशको सेवागर्न सकिन्थ्यो होला नि, किन राजनीतिमा नै लाग्नुभयो ?
राजनीतिका क्षेत्रबाट मात्र हैन मैले आफ्नो क्षमता र योग्यता अनुसार विभिन्न क्षेत्रबाट पनि देश र जनताका लागि सक्दो योग्दान गर्दै आएको छु । मेरो यही योग्यता, क्षमतामाथि विश्वास गरेर नै पार्टीले मलाई यो स्थान दिएको हो ।

काठमाडौं क्षेत्र नम्बर ९ वाट तपाई प्रदेश सांसद्को उम्मेदवार बन्नुभएको छ, के के योजना छन ?

निश्चय पनि, मलाई पार्टीले टिकट दियो अब माननीय बन्ने हो भनेर लहडमा कुद्ने कुरा हुँदैन ।  पार्टीले पनि ममाथि निकै ठूलो विश्वास गरेर यो जिम्मेवारी दिएको हो । त्यसैले मैले चुनाव जितेपछि के–गर्ने सबै भन्दा पहिला आफ्नो क्षेत्र, त्यसपछि जिल्ला र समग्र देशकै लागि के गर्ने सकिन्छ ।

ती योजनाका साथ नै म अघि बढेको हुँ । अहिले राजनीतिक कार्यभार पूरा भएको छ । अब मुलूकलाई समृद्धितर्फ दोहर्याउनु पर्ने जिम्मेवारी सबै राजनीतिक दलको काँधमा आएको छ । पनि पनि कुनै दलबाट टिकट लिएर उम्मेदवार बनेपछि केही प्रष्ट योजनाहरु ल्याउन सक्नुपर्छ ।

यो मुलुकमा राजनीतिका नाममा धेरै विकृति–विसंगतिहरु भित्रिएका छन् । मुलुक अराजकतातिर उन्मुख भइरहेको हो कि भन्ने अनुभूति जनताले गर्न थालेका छन् । हामीले माथिदेखि तल्लो तहसम्म देखा परेका विकृतिहरुको अन्त्य गर्न जरुरी छ । झन् नयाँ पुस्तामा देशमा देखिएका विकृतिले धेरै नैराश्यता छाइसकेको छ ।

अधिकांश युवा अवसरका लागि विदेशीन बाध्य भएका छन् ।  यी सबै कुराको न्युनिकरण गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लान आवश्यक छ । म यसमा दिलोज्यान दिएर लाग्ने छु । हामीले हाम्रो घोषण पत्रमा सर्वै कुरा उल्लेख गरेका छौं ।

काठमाडौँ साँस्कृतिक र धार्मिक महत्वले अर्थपूर्ण जिल्ला हो, त्यसमा पनि तपाई जुन क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ, यो क्षेत्रको साँस्कृतिक र धार्मिक महत्व झन बढी छ, यो विषयमा पनि केही सोच्नु भएको होला नि ?

निश्चय पनि काठमाडौँ धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरात्वात्कि महत्वको जिल्ला हो । यहाँका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवद्र्धन गर्दै यस क्षेत्रलाई हेरिटेज संरक्षण क्षेत्रकारुपमा स्थापित गर्दछौं भने यस क्षेत्रलाई स्मार्ट क्षेत्रका रुपमा विकास गर्नेछौं । यस्तै यो देशको राजधानी पनि हो । त्यसैले यहाँको विकासले देशको चित्र कोरेको हुन्छ ।

यहाँ हेरेर समग्र देशको मुल्याङ्कन गरिन्छ । त्यसैले यो क्षेत्रको विकास भनेको देशको विकास हो । म धेरै भाषण गर्ने, जनतालाई बढी भन्दा बढी आश्वासन दिने र अन्त्यमा केही नगर्ने स्वाभावको व्यक्ति होइन । जति गर्न सकिन्छ त्यति मात्र बोल्नुपर्छ भन्ने मेरो मान्यता छ । एक पटक चुनाव जितेपछि आफ्नो रहर पूरा भयो भनेर हिड्ने हो भने जे भन्दा वा बोल्दा हुन्छ । तर, मेरो त्यो ध्यय नभएकाले सक्ने कामको मात्र आश्वासन दिने हो । हामीले हाम्रो घोषणा पत्रमा उल्लेख गरे वमोजिमका कामहरु मुलुकलाई आर्थिक समृद्धितर्फ लान विशेष योगदान दिनेछुं ।

तपाईँले चुनाव जित्ने आधार के–के हुन् ?

उम्मेदवार बनेपछि कसैले पनि म हार्छु भन्दैनन् । अहिले वाम गठबन्धन यहाँ मात्र होइन मुलुकभरी नै छ । पहिला एमाले एक्लै लड्दा पनि यो क्षेत्रमा शक्तिशाली नै थियो । त्यसमा अहिले झन् माओवादी पनि थपिएको छ । हामीले स्थानीय निर्वाचनलाई आँकलन गर्ने हो भने पनि हामी अहिले मुख्य प्रतिष्पर्धी दल नेपाली कांग्रेस भन्दा निकै माथि छौँ । चुनाव जित्ने मेरो यो पहिलो आधार हो ।
दोस्रो म यहीको स्थानीय व्यक्ति हुँ ।

मैले यही क्षेत्रको विद्यालयमा अध्ययन गरेँ । मैले यही क्षेत्रका बाटा–घाटामा बाल्यकाल विताए । मैले यहाँका जनताको दुःख, सुखलाई राम्ररी बुझेको छु । यहाँको धर्म, संस्कृति, रिति–रिवाजका बारेमा म जानकार छु । यहाँको विकास कसरी गर्नुपर्छ त्यो पनि मलाई राम्ररी थाहा छ । त्यति मात्र होइन, मैले यो क्षेत्रमा मेरो तर्फबाट निरन्तर रुपमा सक्दो समाजसेवा गर्दै आएको छु ।

यी सबै मेरा जितका आधार हुन् । यहाँका जनताको मुहारमा खुशी छर्न सक्ने क्षमता भएको व्यक्ति डा. अजयक्रान्ति शाक्य नै हो भन्ने यहाँका जनताले राम्ररी बुझेका छन् । मेरो विज्ञता पनि यहाँको विकासमा सहयोगी बन्ने अपेक्षा गरेको छुृ  । त्यसैले यो क्षेत्रबाट मैले मात्र होइन केन्द्र र प्रदेश ‘ख’बाट पनि शानदार विजयी प्राप्त हुन्छ भन्नेमा ढुक्क छौँ ।