Banner News

विद्यासुन्दर भन्नुहुन्छ: रत्नपार्क क्षेत्रलाई एक सातामै धुलोमुक्त बनाउछौ



काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगरपालिकाले एक साता भित्रै रत्नपार्क र टुँडिखेल आसपास क्षेत्रलाई धुलोमुक्त बनाउने भएको छ । त्यसका लागि महानगरले सरसफाइ र ममर्तसम्भारको काम सुरु थालेको छ ।

महानगरको सबै क्षेत्रमा एकै पटक अभियान चलाउन नसक्ने भएपछि रत्नपार्क आसपास क्षेत्रलाई एक साता भित्र धुलोमुक्त गराउन लागिएको मेयर विद्यासुन्दर शाक्यले वताए । त्यसका लागि महानगरपालिकाको वातावरण विभाग महाशाखाले काम सुरु गरेको हो । आइतबार अभियान थालनी गरेपछि महानगरले सो क्षेत्रमा कागज र प्लाष्टिकका टुक्रा मात्रै हटाउने होइन धुलो बढार्न सुरु गरेको हो ।

विद्युत प्राधिकरणले भत्काएको सो क्षेत्रको सडकपेटी मर्मत पनि सँगसँगै सुरु गरेको छ । योसँगै सो क्षेत्रमा बनेका ट्राफिक आइल्याण्ड सजावटको काम पनि भइरहेको छ । काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्यता र हरियाली बढाउन भन्दै तत्काल २५ स्थानमा ट्राफिक आइल्यान्डहरु सजाउन सुरु गरिएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले बताए ।

महानगर क्षेत्र ंभित्रका विभिन्न आइल्यान्डहरुमा दुबो, फुल र विरुवा रोप्ने काम भइरहेको छ । रत्नपर्क, जमल, सुन्धारा लगयत विभिन्न ठाउँमा रहेका ट्राफिक आइल्याण्डमा थुपारिएको फोहोर हटाउन थालिएको हो । नयाँ ट्राफिक लाइट सिस्टमको प्रयोगका लागि सवारीलाई आफ्नो बाटोमा ‘च्यानलाइज्ड’ गर्न र जथाभावी सवारी मोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ट्राफिक आइल्याण्डहरु एकवर्ष अघि नै निर्माण गरिएका थिए । तर, यो परियोजना असफल भएपछि आइल्याण्ड प्रयोगबिहीन बनेका थिए ।

मेलम्ची खानेपानीले भत्काएका भित्री सडकका खाल्डा पुर्ने र ती सडकमा पिच गर्ने काम महानगरले यसअघि नै सुरु गरेको थियो । वर्षा सकिएसँगै खाल्डाखुल्डी पुर्ने र भित्री सडक पिच गर्ने काममहानगरले थालनी गरेको हो । त्यसका लागि ५ वटा प्याकेजमा २५ करोड खर्च गर्न लागिएको मेयर शाक्यले जानकारी दिए ।

‘वडा–वडामा पनि सडकको खाल्डा पुर्न बजेट पठाइएको छ । वर्षामा हामीले खाल्डा पुरेनौं,’ शाक्यले भने, ‘अब टिकाउ पिच गर्न थालिएको छ ।’ नरदेवी, कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय रहेको देखिन्छ । ती क्षेत्रका भित्री सडकहरु केही पिच पनि भइसकेका छन् । कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने आठ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर रु ८० करोड बजेट छुट्याएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।

रु।८० करोडमध्ये २५ करोड साना सडकको खाल्डा पुर्नको लागि र रु। ५५ करोड काठमाडौँका अन्य सडक निर्माणको लागि खर्च गरिने ढकालले बताए । कामपाका अनुसार मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न शुरु गर्ने योजना रहेको छ ।